अबोध बालापन
feather icon प्रकाशन मिती: २०७८ बैशाख ८ गते

साँझ बेला,
ठूलो जहान अनि जुडेल्नोमा थुप्रेका भाँडाको बगरेल।
खरानी अनि जुठोमा लत्पतिएका ती हात।
अनि सिउसिउ सिरेटोमा उभिएको म
मम्मीलाई तान्दै अनि फकाउँदै,
जाउँ न मम्मी सुत्न,
भाँडा आमालाई माझ्नु भन्नु न।
के थाहा,
मम्मी घरकी बुहारी।
बस मलाई त निदाउन त्यै छाती न प्यारो थियो।
 
उकाली, ओराली, खोली बगर गर्दै एकदिनको
बाटो,
टीका जमरा सहित मामाघरको दक्षिणाले भरिएको हात र हौसिएको म।
मम्मी को पिठ्युँ र बुइमा साटफेर गर्दै बेहद खुसी।
के थाहा,
त्यो सोलिको जमाना,
म भन्दा गह्रुङ्गो झोला झाम्टा पिठ्युँमा अल्झिएका छन् भन्ने।
 
पुनः त्यही बाटो,
अनि बाबाको काँधमा खुट्टा नचाउँदै बसेको म।
बिहानी पनि साँझ बानिगयो।
काँधमा बसेर नै थाकेको म।
के थाहा,
बेला बेला मलाई बिसाएर,
टिपी फालेको जुकाले बाबाको रगत चुसी लान्थे भन्ने।
के थाहा,
काँधमा बसेरै थाकेको म,
बोक्ने शरीर अझ शिथिल थियो भन्ने।
 
वर्षदिनको दसैं,
मेरा लागि नयाँ लुगा थियो,
नयाँ लुगामा चिटिक्क म,
सबैलाई देखाउन भनी
ओल्लो घर पल्लो घर नाच्थें।
के थाहा,
कति सालदेखि नसाटिएको धोती थियो मम्मी को।
के थाहा,
त्यो फाटेको बाबाको गन्जी पनि कोट सँग साटिन चाहन्थ्यो।
 
छानाको खर फेर्दाको चिटिक्क त्यो घर,
कमेरो र माटो पोतेर सिँगारिएको त्यो घर,
सबैभन्दा खुसी पनि मै थिएँ।
चारै पट्टी घुमी घुमी हेरी रमाउँथे।
के थाहा,
जति चिटिक्क बनायो त्यति नै ऋण बोक्छ घरले भन्ने।
 
हर रात मम्मी को छातीमा निदाउने म,
के थाहा,
अँध्यारो मम्मी को पनि डर हो भन्ने।
हरदिन बाबाको खुट्टामा पिङ खेल्न खोज्ने म,
के थाहा,
ती खुट्टा त दिन भरको कामले पोलेका छन् भन्ने।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016