लघुकथा: गोजी
feather icon प्रकाशन मिती: २०७८ बैशाख १७ गते

गाउँबाट भर्खर सहर आउनुभएकी हजुरआमा बिहानको घाम ताप्दै दस वर्षिया नातिनीको कपाल कोरिदिँदै हुनुहुन्थ्यो । कोर्दै गर्दा भन्नुभयो, " छोरी ! तैँले अर्कै लुगा लगाएर स्कुल गए हुन्न र ? हेर्, तेरा दुवै सर्ट फरकमा गोजी रहेनछन् । गोजी भएका पो लगाउनुपर्छ त । "
मुखमा च्यापेको रिबनको फूल झिक्दै नातिनीले सोधिन्, " किन र हजुरआमा ?"
सिउँदो मिलाइदिँदै हजुरआमाले भन्नुभयो, " गोजी भएन भने तँ कहिल्यै धनी हुन्नस् । कसैले तँलाई दिएको पैसा पनि तैँले अरूलाई राख्न दिनुपर्छ । अरूले त्यो पैसा तँलाई फिर्ता नदिन पनि सक्छन् । हातैमा बोक्दा हराउन पनि सक्छ, च्यातिन सक्छ ।"
नातिनीले हत्त न पत्त सहमति जनाइन्, " हो हजुरआमा ! पोहोरको दशैँको पैसा कति धेरै भएको थियो, बाबाले सकिदिनु भएछ । अस्ति मागेको त, त्यही पैसाले मेरो कपी किनिदिएको भन्नुभयो ।"
"कस्तो लाग्यो त मेरो कुरा ! देखिस् त !" हजुरआमाले थप्नुभयो, " गोजी भएको भए तैँले त्यो चेन बिग्रिएको घडी पनि बोक्न सक्थिस् अनि तँलाई समय अनुसार काम गर्न पनि सजिलो हुन्थ्यो । हेर् त, तँसँग अहिले न त चेन बनाउने पैसा छ न त घडी बोक्ने गोजी छ ।"
दुवै हातले कपाल सम्म पार्दै नातिनी बोलिन्, " हजुरआमा ! त्यो चेन चाहीँ तपाईँकै पैसाले बनाइदिनू न है । स्कुल ढिलो पुगेर सधैँ गाली खानु पर्छ मैले ।"
" ल ल भोलि बनाइदिउँला " भन्दै हजुरआमा फेरि बोल्न थाल्नुभयो, " हेर् छोरी ! गोजी भए तैँले सानातिना हतियार पनि बोक्न सक्छेस् । अब तँ ठूली भइस् । फटाहाहरूले तँलाई दु:ख दिन पनि सक्छन् ।"
नातिनी-हजुरआमाको कुरा सुनिरहेकी पल्लो घरकी पसल्नी आन्टीले पनि थप्नुभयो, " हो छोरी हो ! गोजी भए महिलाको आर्थिक विकास हुन्छ । गोजीमा समय, साहस, हिम्मत र डर बोक्न सकिन्छ । हेर, मेरो न सारीमा, न चोलोला, न पेटिकोटमा, न मजेत्रोमा, न घुम्टोमा केहीमा गोजी छैन ! तिमी पनि ठूली भएपछि मजस्तै नबन्नू है !"
कपाल कोरी सकेर नातिनीले दाइको गोजी भएको प्यान्टको एउटा गोजीमा हजुरआमाले दिएको पाँच रुपीया र अर्को गोजीमा चेन बिग्रिएको घडी बोकेर समयमै स्कुल पुगिन् । स्कुल पुग्नेबित्तिकै सरले आउट ड्रेसमा स्कुल आउन पाइदैन भनेर गेटबाटै फर्काइदिनुभयो । विचरी रुँदै घर फर्किन् ।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016